Tuesday, January 8, 2013

खुसी र सुखी दाम्पत्य जीवनको पन्ध्र वर्ष - मायालुलाई पत्र

खुसी र  सुखी दाम्पत्य जीवनको पन्ध्र वर्षको उपल्क्षमा पुराना दिनहरुको सम्झना गर्दै मायालुलाई पत्र....
 प्रिय
विज्ञान र टेक्नोलोजिको जति ठूलो नै आविश्कार भए पनि,सिरानी मुनी मायालुको पत्र लुकाएर सधैं निन्द्रा देवीको काखमा जानु अघि दोराई दोराई पढ्नुको मज्जा नै अर्कै हुँदो रहेछ । त्यसैले आज धेरै समय पछी मलाई पत्र लेख्न मन लाग्यो । पत्र हात पर्दा झसङ्ग नहुनु प्रिय,किनकी समयअनुरुप विकास,परिवर्तन,टेक्नोलोजीमा मान्छेले जति फट्को मारे पनि माया, विश्वास, अनि सम्बन्धमा मान्छेले धेरै कुराहरु गुमाउदै गएको छ जुन म कहिल्यै चाहान्न ।
फेसबुक आएपछि त तिमीले पनि पढ्ने बानि भुलीसक्यौ होला? मैले त झनै लेख्नै विर्सिए छु । हेर त कस्तो बिडम्बना, हिजो दिनमा दुई,चार पत्र नकोरी बस्न सक्दैनथ्यौ तर आज दुईचार पटक फेसबुक नखोलि बस्नै नसक्ने भएका छौ । समय र परिस्थितिले मान्छेलाई कता बाट कता पु-यायो । आज मान्छेले अरुलाई आफ्नो बनाउन फ्रेन्ड रिक्वइस्ट पठाउदा पठाउदै आफ्नु मान्छे गुमाएको पत्तै पाएको छैन प्रिय । भन्छन् अरुको तस्वीर हेर्दा र कमेन्ट गर्दा गर्दै, आफ्नोको अनुहारै भुल्न लागि सके रे । गोठालो जान्दा साउलाको बुटा मुनि लुकी लुकी ढुङ्गा हनिन्थ्यो आज मान्छे फोटोलाई ट्याग हान्छन् , सुसेले र बेलाईन्थो आज बुज गर्छन, पत्र लेखिन्थ्यो आज म्यासेज गर्छन । गौडाँ गौडाँ कुरेर भेटिन्थ्यो आज स्काईपीमा भेट्छन् । हेर प्रिय जमाना कहाँ बाट कहाँ पुगे छ?
धेरै दिन पछिको पखाई अनि बल्ल बल्ल भेट भएको त्यो छोटो समय कति रमाईलो र अमूल्य थिए । तिमीले मुस्सुक्क हाँसेर बोलेका शब्दहरु आज पनि कानमा गुन्जिरहेको छ, । लुकि लुकि भेटेर साटेका मायप्रितिका शब्दहरु अनि भविष्यका बारेमा गरिएका योजनाहरु आज पनि सजिएका छन् । विवाहको दिन सबैको अगाडी लज्जाउदै खुआएको माहुर, लगनगाँठो समाउदै अग्नि साक्षी राखेर गरिएको बाचाबन्धन कहिल्यै टुट्न दिनेछैन प्रिय । त्यो रात, त्यो शुन्यता अनि सास, सास सँगै धड्कीएको मुटु आज पनि सम्झेर ल्याउदा ढुकढुक गर्छ । कता कता शरिर नै फुरुङ्गभएर आउछ । सायद तिमी पनि पत्र पढ्दै हाँस्दै हौलि ? यहि त होनी मज्जा पत्र लेख्नु र पढ्नुको ।
अहो रात पनि छिप्पिन लागेछ  प्रिय, कलम बन्द गुर्न भन्दा अगाडी फेरी एकपटक हाम्रो सुखमए  जीवनको शुभकामना साट्न चाहान्छु । सधै सधै यसरी नै एकअर्काको साथ हुन पाईयोस, जुनी जुनी सँगै हुन पइयोस । यहि छ मेरो चाहाना ।
अधुनिकताले मान्छेहरु उल्टा हुन थाले प्रिय । फेसबुक र स्काईपीमा लाग्नेहरु जाग्ने बेला भयो, रातभरी अनलाईन बसेर माया प्रितीका गफ गर्छन अबैधानीक तवरले अनि भन्छन असुरक्षीत भयो,शोषित भैयो । हुन पनि त्यस्तै भएको छ यहाँ । माल पाएर चाल नपाउनेहरु धेरैछन् । अर्काको बुढी सुन्दरी देख्ने भन्दा अर्काको बुढा राम्रा देख्नेहरुपनि कम नहुने भए । परदेशीका जीवनहरुमा त झन यो नीयति विकराल बन्दै छ रे । बुढा विदेशमा रातोदिन काममा बुढी उता अर्कै सँग तामधाममा लाग्छन् रे । अर्को तर्फ कतिका बुढीहरु आफ्नो जीवनको बाजीराखेर पैसा पठाउछन् उता बुढो फेसबुकमा गर्लफ्रेन्ड बनाउदै बहारवाली राख्छन् रे । यो त रे का कुराहुन । पर्निलाई प-यो उसैले व्यहोरो र उसैले भोग्यो । यस्तो अरुलाई नपरोस् यही हैन त प्रिय तिम्रो र मेरो याने हाम्रो तर्फबाट सबैलाई सन्देश ।
आशा छ तिमीले पत्रमा लेखेका सबै कुरा बुझ्यौ होला सिधा लेख्दा कुरा सक्किने भएर अलिकता घुमाएको छु र घुमाएर लेखिएको कुरा पढ्दा घोरिनु पर्छ । घेरिएर पढ्दा सबै बुझिन्छ । बुझौ भने नै बुझाएको सर्थकता पाउछु मैले ।
अन्तमा ओके, आई लभ यू, बाइ बाइ, टेककेयर, मिस यू भन्न चाहान्न किनकी सबैले विधुतिय चाटमा अरुलाई झुक्याउन प्रयोग गर्दछ प्रिय । त्यसैले म भन्छु राम्रो सँग बस, आफ्नो स्वस्थ्यको ख्याल राख्नु, घरपरिवार सबैको ख्याल राख्नु । तिम्रो पत्रपाउने वित्तिकै अर्को पत्र लेख्ने बाचाँ गर्दै बिदा हुन्छु । उही तिम्रो ....... 

No comments:

Post a Comment